थारु समुदाय : लोकप्रिय चाड ‘माघी’

Jan 26, 2024 - 23:43
 0
थारु समुदाय : लोकप्रिय चाड ‘माघी’

काठमाडौं । थारु समुदायको प्रमुख चाड हो माघी । थारु समुदायका लागि माघी नयाँ बर्षको दिन पनि हो । अर्थात थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ बर्षका रुपमा धुमधामका साथ सनान, दान एवं खानपिन र रमाइलो गरेर माघी चाड मनाउने गर्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ बर्ष अर्थात् माघी चाड पर्दछ । यो चाडलाई ठाउँ अनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गते बिहानै जलाशयमा गइ स्नान, पूजा गरी ठुलाबडा कहाँ गएर आशिर्वाद लिने परम्परा थारु समुदायमा छ । 

माघे संक्रान्ति अर्थात् पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सँगुर काट्ने पनि चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई जिता मर्ना दिन भनिन्छ । पुस मसान्तमा विभिन्न प्रकारका परिवार ‘सुँगुरको मासु, ढिक्री रोटी, माछा’ आदि तयार गरिन्छ । र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष यस पर्वमा छोक्रा नाच ‘मघौटा’ र ढुम्रु गाउने गरिन्छ ।  

अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्राउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ । थारू समुदायले माघी माघ महिनाभर मनाउँछन् । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

यस पर्वमा उनीहरू वर्षभरिका सुखदुःखका कुरा साटासाट गर्छन् र घरपरिवारभित्र कामको बाँडफाँट गर्छन् । त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) र चौकीदार चुन्ने काम पनि हुन्छ । केही समय पहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने काम पनि यसै दिन गरिन्थ्यो । अहिले यस्तो प्रथा हटिसकेको छ । 

गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ । बर्षभरीका सुख दुःख का कुराहरु साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ ‘बरघर’ चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

केही पहिलेसम्म कमैया र कम्लहरीहरु छुटाउने फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो तर अहिले यस्ता प्रथा हटिसकेका छन् । गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि जस्ता विविध कार्यहरु पनि यही दिन गरिन्छ । वर्षभरी त्यही अनुसार चल्नुपर्ने हुन्छ । अर्थात् भनौँ लोकतान्त्रिक प्रक्रिया अनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । यसरी माघ महिनाभरी नै रमाइलो गरी माघ मनाउने गरेको देखिन्छ थारु समुदायलाई । यो पर्वमा विभिन्न क्रियाकलाप गरेको देखिन्छ । जसले यो पर्वको आवश्यकता झनै झल्काउँछ ।

छोरी चेलीलाई उपहार 
माघीको दिन नुहाएर आइसकेपछि आफ्नो छोरी चेलीलाई उपहार दिने चलन छ । त्यो उपहारमा चामल, नुन, दाल आदि पाँच मुठी वा तीन मुठी निकालेर दिइन्छ । यसलाई ‘निसराउ’ भनिन्छ । यसले दिदीभाइहरुमा सम्बन्ध बढाउनका लागि भूमिका खेल्छ ।

नयाँ आर्थिक वर्ष
माघीलाई थारु समुदायको नयाँवर्ष पनि भनिन्छ । खासगरी वर्षभरी क–कसले, को सँग पैसा लिनुपर्ने वा दिनुपर्नेछ । सम्पूर्ण ऋणहरु चुक्ता गर्ने र नयाँ खातापाता सञ्चालन गर्ने कार्य यही दिनबाट सुरु हुन्छ । घरभित्र होस या गाउँसमुदायमा खेतीपाती लगायत अन्य व्यवहारहरुको पनि नवीकरण पनि यसै दिनमा गरिन्छ । 

सम्बन्ध प्रगाढ
माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रुपमा पनि मानिन्छ । सबै जना नदीबाट नुहाएर आएर गाउँभरीका बुढापाका देखि लिएर स–साना बालबालिकासम्म सबैले सबैसँग ढोग गर्ने र आशिर्वाद लिने दिने चलन छ । यसले गाउँलाई नै एकता कायम पनि गर्ने गर्दछ र आत्मियता बढाउनमा सघाउँछ ।

अगुवा चुन्ने काम

माघमा एउटा महत्वपूर्ण कार्य हुन्छ त्यो हो गाउँको अगुवा चुन्ने काम । यो काम गाउँको अगुवाको घरमा भेला भएर हुन्छ ,त्यो भेलालाई ‘ख्याल’ भनिन्छ । गाउँको अगुवालाई ठाउँ विशेष अनुसार बरघर, महटावाँ, भल्मन्सा आदि पनि भनिन्छ । यो दिनमा नयाँ अगुवा चुनिनुका साथै वर्षभरी गरिएका कामको समीक्षा गरिन्छ र नयाँ उक्त वर्षमा भएका कमीकमजोरीहरुलाई पनि नदोहो¥याउने गरी कार्य गरिने वाचा पनि गरिन्छ । नयाँ अगुवाले गाउँको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा बढी ध्यान दिने गर्छन् । गाउँलाई सुधार्नेतिर लाग्छन् । 

घरसल्लाह गर्ने दिन
माघीको दिनमा थारु समुदायका मानिसहरु नुहाएर आएर सपरिवार बसेर खानपिन गर्छन् र घरसल्लाह पनि गर्छन् । उनीहरुले घरसल्लाह घरमूली को बन्ने, घरको काम कसले गर्ने, बाहिरको काम कसले गर्ने, भाइ भाइ घर छुट्टिदा अन्नबाली बाँड्ने जस्ता कामहरु सल्लाहपूर्वक गर्ने गरिन्छ । त्यसैले यसलाई घरसल्लाह गर्ने दिनको रुपमा पनि लिइन्छ । थारु समुदायको अरु पर्व भन्दा यो पर्व अलि विशेष अनि महत्वपूर्ण मानिन्छ । यसको महत्वलाई विभिन्न कोणबाट चर्चा गर्न सकिन्छ ।

सामाजिक र सांस्कृतिक महत्व
थारु समुदायमा सामाजिक भावना अधिकतम पाइन्छ । मानिस समाज जन्मन्छ, समाजमा हुर्कन्छ र समाजमा नै बस्छ र समाजमा नै हरेक कुरा सिक्छ । त्यसैले ऊ सामाजिक प्राणी हो । सामाजिक प्राणी मात्र हुनु ठुलो कुरा भने होइन । उसको व्यवहारले समाजमा कतिको हितकारी भूमिका खेल्छ भन्ने कुराले महत्व राख्छ ।

थारु समुदाय पनि एउटा यस्तो समुदाय हो जसले समाजमा समाज विकासको विविध कार्यहरु गर्न समाजमा अन्तरघुलित भएर गर्छ । थारु समुदायका मानिसहरुको बसोबासको अवस्था हेर्ने हो भने उनीहरु एकैठाउँमा गुजुमुज्ज पारेर बनाएका हुन्छन्  र एकअर्कालाई सहयोग गर्न आतुर हुन्छन् । थारु समुदायको माघी पर्व पनि एउटा यस्तो पर्व हो जसले थारु समुदाय लगायत समग्र समाजको विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । 

खासगरी सामुहिक रुपमा मनाउँछन् माघी थारु समुदायले । सामुहिक रुपमा निर्णय गरेर मात्र उनीहरुले कार्यको थालनी गर्छन् । घरको एउटा घरमूली छान्नका लागि पनि छलफल गर्ने गर्छन् । थारु समुदायका मानिसहरुले जानी नजानी भए पनि सामुहिक रुपमा नै काम गरिरहेका हुन्छन् । जसले सामाजिक भावनाको विकास गराइरहेको हुन्छ । 

माघी चाडमा सबै थारु समुदायका जुनसुकै गाउँमा पनि गाउँलेहरुको सहभागिता र छलफलका आधारमा निर्णय गर्ने गरेको देखिन्छ  जसले थारु समुदायका मानिसहरुमा सहयोग, सहकार्य र समन्वयको भावनामा विकास गराउँछ । अर्थात् एकल निर्णय नगर्ने हुनाले सबैको भावना, विचारहरु समेटिएको हुन्छ । यसले सामाजिक महत्वलाई झल्काउँछ । थारु समुदायले माघीको दिन अर्थात् माघ १ गतेको दिनमा चोखो अर्थात् शुद्ध काम गर्छन् । थारु समुदायमा ‘माघीको दिन माघ १ गते मा रातो अर्थात् (रगत) देखाउनु हुँदैन’ भन्ने मान्यता पनि पाइन्छ ।  त्यसैले पुस मसान्तको दिनमा सुँगुर मार्ने (जिता मर्ना काम), पकाउने काम गरिन्छ । १ गतेको दिन केवल खाने, पूजापाठ गर्ने जस्ता काम मात्र हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow