कसले बुझ्ने जनताको दुःख ?

Jan 28, 2024 - 22:25
 0
कसले बुझ्ने जनताको दुःख ?

काठमाडौं । जलस्रोतको धनि राष्ट्र नेपाली जनता खानेपानीको अभावले आज पनि आक्रान्त बन्नु परिरहेको छ । कतिपय विकट गाउँतिर खानेपानीको अभाव भोगिरहेका जनातका समस्याहरु नौलो होइन ।

देशको राजधानी काठमाडौं उपत्यकामा त झन् खानेपानीको समस्या ठूलो चुनौती बनेको छ । बर्षौदेखि काकाकुल काठमाडौं उपत्यकाबासीलाई आस देखाउने मेलम्चीको पानी अझै पनि केही उपभोक्ताले प्रयोग गर्न छैनन्।

यहाँका स्थानीयबासीले परम्परागत ढुंगेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । ललितपुरस्थित ग्वार्कुमा बस्ने ईन्दिरा मगर पानीको जोहो गर्दै दिन जाने गरेको गुनासो गर्छिन्। स्थानीयबासी पानी खोज्न जाने धारामा धेरै मानिस पानिका लागि लाम बस्ने गरेकाले घन्टौं कुर्नुपर्ने बाध्यता रहेको ईन्दिराको अनुभव छ । यस्तो समस्या भोग्ने ईन्दिरा मात्रै होइन, उपत्यकाका हजारौँको समस्या यहि हो ।

रित्तो गाग्री लिएर सडकमा
काठमाडौं उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका छन् । गत सोमबारदेखि सडकमा उत्रिएकाहरु उपत्यकाबासीले रित्ता गाग्री र खाली भाडा ‘ड्रम’ जस्ता लिएर प्रदर्शन गरेका हुन् । मनसुन सकिएको तीन महिनासमम पनि धारामा मेलम्चीको पानी नचुहिएपछि उनीहरु आन्दोलनमा उत्रिए ।

गत महिनाको सोमबार कोटेश्वरदेखि मिनभवनसम्म रित्ता गाग्री लिएर प्रर्दशन गरेका उनीहरुले शुक्रबार पाटन दरबार क्षेत्रबाट र्यालीसहित उपत्यका मेलम्ची संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । 

कहिले आउँछ मेलम्चीको पानी ?
उपतयकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । तर आपुर्ति भने १० करोड लिटर हाराहारीमा मात्रै छ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको भनाई छ ।

सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाडौंवासीलाई पानी खुवाउनुपर्ने सांसद अमरेशकुमार सिंहले बताएका थिए । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार दीर्घकालिन रुपमा काठमाडौंमा पानी ल्याउने गरी काम भइरहेको छ ।

बुधबार हेलम्बु-१ अम्बाथानस्ति मुहानस्थलमा अवलोकन टाेलीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो ।

अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरको भनाई छ । गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ । विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरुपमा ल्याउने गरिएको छ । 

खानेपानीमन्त्री महिन्द्र राय यादवले गत मंसिर १६ गते अम्बाथान पुगेर दुई दिन बसेर आयोजनास्थलको अवलोकन गरेका थिए । मेलम्ची खानेपानीले राजधानीको समस्या समाधान गर्ने सरकारको लक्ष्य कहिले पुरा हुने निश्चित छैन । पटक-पटक सरकार फेरि मन्त्री फेरिए तर, पानी वितरण गर्ने मिति सरेको सर्यै गर्दा उपत्यकाका स्थानीबासीले सहजै पाउन सक्ने अवस्था छैन ।

मेलम्चीको खानेपानीको आठौँ उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरे । तर, शुभारम्त गरिएको यो पहिलो पटक भने होइन । यसअघि पनि विभिन्न पटक-पटक पथान्तरणको शुभारम्भ गरिएका छन् ।  प्रधानमन्त्री प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन समेत दिएका छन् । 


२०७७ असार २१ सिन्धुलीपाल्चोकका तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मेलम्ची खानेपानी अयोजनाको पानी पथान्तरण गरेका थिए । असार ३० गते पथान्तरण गरिएको पानी काठमाडौं आउन नपाउँद्यै गेट भत्किएर दुई जनाको मृत्य भएको थियो । 


त्यस्तै, तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले २०७७ फागुन १० गते मेलम्चीको हेडवर्क्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए । 


२०७७ फागुन २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए । 

२०७७ चैत्र २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् । 

२०७८ चैत २९ गते तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको हेडवर्क्स पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको उद्घाटन गरेका थिए ।

उनले एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरेका थिए । त्यस्तै, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, निर्वाचन आचारसंहिता लागू भएको भन्दै देउवाको कार्यक्रम स्थगित भएको थियो ।

त्यस्तै, २०७९ वैशाख ११ गते चौधरीले नै उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङकीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका थिए । भने २०७९ मंसिर २३ गते चौधरीले फेरि मेलम्चीको पानीको वितरण गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेपछि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने बताइएको छ । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो। त्यसयता मेलम्चीको पानी काठमाडौंमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । २१३ दिनपछि मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं ल्याउन सुरु भएको छ । तर, अझै पनि उपत्यकाबासीलाई पानीको अभाव भने जस्ताको तस्तै छ ।  

मुलुकको राजनीतिक अवस्था फेरियो । तर जनताका दुःख अझै फेरिएको छैन । पटक-पटक देशको नेतृत्व फेरिए । मन्त्रीहरु फेरिएर । सरकारले पनि जनताका दुःखका दिन गईसकेको बताए । तर, नेतृत्वको जीवन फेरियो जनताको दुःख जहाँको त्यहि छ । खानेपानीकै अभावका करण जनता अहिले पनि दैनिकी जीवन कष्टकर बाँच्न बाध्य छन् । नेतृत्वले कहिले बुझ्ने आमा जनताको दुःख ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow