पुग्नै पर्ने ‘मुन्धुम ट्रेल’

Jan 27, 2024 - 00:56
 0
पुग्नै पर्ने ‘मुन्धुम ट्रेल’

काठमाडौं । मुन्धुम ट्रेल पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा अवस्थित छ । यो पदमार्ग नेपालको घुम्नैपर्ने आकर्षक पर्यटकीय गन्तव्यभित्र पर्दछ । धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ विकास भइरहेको छ ।

यो नयाँ गन्तव्यको पहिचान मैयुङ-टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रर्वद्धन केन्द्रले गरेको हो । भोजपुर र खोटाङ्गको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिन्छ । 

करिब १ सय किलोमिटर दुरीको यो पदमार्ग पूरा गर्न २ साताजति लाग्ने बताइन्छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्धुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको हो । 

हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरुका लागि डाँडैडाँडा थकानको महसुससमेत नहुने गरी हिँडिरहुँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमश्रृंखला र तराईको भू-भाग अवलोकन गर्न सकिन्छ । 

ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ ।

सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गरेका थिए । मध्यपहाडी सडक सञ्जालसँग जोडिएको यो पदमार्ग ‘भर्जिन’ भएको तथा दिक्तेल र भोजपुरबाट हवाइमार्ग हुँदै सहजै पुग्न सकिने क्षेत्र भएकाले पर्यटकहरुलाई आवागमनमा थप सहज बन्ने निश्चित छ । 

नेपाल टुरिजम बोर्डका सिनियर डाइरेक्टर हिक्मतसिंह ऐेर यस क्षेत्रको पर्यटकीय विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्नलाई स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको छ । भोजपुरका संघीय सांसद सुदन किरातीले पर्यटकीय क्षेत्रको हामीले सोचेजस्तो आर्थिक सम्वृद्धिको मेरुदण्ड भएकाले जिल्लामा अन्य पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र पहिचान भएका गन्तव्यलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्ने गरी योजना बनाउन आफूले सक्दो पहल गर्ने बताएका थिए । 

प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुनेगरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् । 

तस्बिर सौजन्य : श्याम सामसोङ राई र रमेश राई 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow