‘जिन्दगीमा केही बन्नु छ’

Jan 26, 2024 - 22:30
 0
‘जिन्दगीमा केही बन्नु छ’

काठमाडौं । गायिका मेनुका पौडेलले भारतको चर्चित रियालिटी शो इन्डियन आइडलको उत्कृष्ठ १० मा स्थान सुरक्षित गरेकी छन् । नेपाल आइडल र सारेगामापामा उत्कृष्ठ ११ बाट बाहिरिएकी मेनुकाले ११ नम्बरको ‘च्यानल गेट’ पार गरेकी हुन् । 

आइडलका प्रत्येक एपिसोडमा निर्णायक र अतिथिहरुको प्रशंसा कमाउँदै आएकी छन् आएकी मेनुका आइतबार बेलुकाको एपिसोडबाट टपटेनमा प्रवेश गरिन् । पियुष, अञ्जना र मुस्कान बटम–थ्रीमा परेका थिए । त्यसमध्ये मुस्कान बाहिरिइन् । 

उक्त एपिसोडमा अभिनेता ऋतिक रोशन ‘फाइटर’ सिनेमा प्रमोसनका लागि उपस्थित भएका थिए । त्यही कारण ऋतिक अभिनित सिनेमा विशेष एपिसोड थियो । मेनुकाले अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए । 

उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिईन् । मेनुकाले प्रभास अभिनित भारतीय फिल्म ‘सलार’ मा समावेश गीत समेत स्वर दिइसकेकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लगिएको विषय पनि आइतवारको कार्यक्रममा प्रस्तोता हुसेनले उल्लेख गरेका थिए । तर, उनको आँखाको अवस्था हेरेका डाक्टरले मेनुकाको आँखाको अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको उनले बताए । तर आफूहरूसँग यस्तो खालको उपकरण रहेको जसले गर्दा मेनुकाले धेरै कुराहरू आफैँ गर्न सक्छिन् । 

‘जस्तै उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्छिन्,’ कार्यक्रममा प्रसारित भिडिओमा ती डाक्टरले भनेका छन् । डाक्टरले यसो भने लगत्तै निर्णायकहरू र कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेका थिए । घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताइन् । मेनुकाले पनि त्यसको प्रतिक्रियामा धन्यवाद व्यक्त गर्दै आफू निकै उत्साही भएको बताईन् । मेनुकाले इन्डियन आइडलको प्रत्येक कार्यक्रममा निर्णायकहरुको पाइरहेकी छन् । 

मेनुकोको जन्म झापाको हल्दिबारीमा सामान्य परिवारमा भएको हो । मेनुका जन्मजात दृष्टिविहीन हुन् । उनका आमाबुवा र दुई बहिनी छन् । सामान्य आर्थिक अवस्थाका कारण उनका बुवा वर्षौँअघि कमाइ गर्न मलेशिया गएका थिए। अहिले पनि उतै छन् । 

इन्डियन आइडलको एउटा कार्यक्रममा मेनुकाको ठूलो इच्छा आफ्नो बुवालाई घर फर्काउनका लागि आफू सक्षम बन्नु रहेको बताएकी थिईन् । उक्त कार्यक्रममा मेनुकाले नै आफ्नी एउटी बहिनीको विवाह गराएको र अर्की बहिनीलाई पढाइरहेको भन्ने कुरा खुलेको थियो । 

पचीस वर्षमा परिवारको जिम्मेवारी सम्हाल्न थालिसकेकी मेनुका जन्मिँदा नै आँखा नदेख्ने भएर जन्मिए पनि उनको आँखाको उपचारका लागि आमाबुवाले आफूले सकेको सबै उपचार खोजे तर, केही सीप नचलेपछि आमाबुवाले उनलाई झापाकै गरामुनी भन्ने ठाउँमा रहेको दुर्गा माध्यामिक विद्यालयको होस्टलमा राखिदिए जहाँ अन्य दृष्टिविहीनहरू पनि थिए । मेनुकाको सङ्गीत सँगको पहिलो परिचय त्यहीँ भएको थियो । हार्मोनियमको संगीत सुनेपछि आकर्षित भएकी मेनुकाले इन्डियन आइडलको मञ्चमा भनेकी छन्, ‘मलाई त्यही बेला लागेको थियो, जिन्दगीमा केही बन्नु छ भने गायिका नै बन्नु छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow