माघे संक्रान्ति किन र कसरी मनाउने ?

Jan 26, 2024 - 23:42
 0
माघे संक्रान्ति किन र कसरी मनाउने ?

काठमाडौं । संस्कृतिको धनि समुदाय हो मगर । मगर समुदायले मान्दै आएको विभिन्न जाडहरुमध्ये माघे संक्रान्ति, भूमेपूजा, वैशाखी पूर्णिमा, मंसिरे पूर्णिमा जेनसी पूर्णिमा आदि हुन् । यी चाडमा मगर समुदयाले कुलान पूजा, बाह्र भाइ बराहपूर्ण सिद्धान्पूजा गरी प्रकृति पूजाकै फरक-फरक रुपमा मानिन्छ । 

खासगरी यो चाड हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुशीयालीका साथ बाँच्न पाउने परिकल्पनासहित हराभरा उभेउली जीवनमा प्रवेश गरेको खुशीयाल एवम् उत्सवको रुपमा माघे संक्रान्ति मनाइन्छ । यस चाडमा धनुष वाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु बनाइ खाने, मासको दाल भात र नून एकै ठाउँमा पकाइ खिचडी बनाउने, खिचडी पितृ पिण्डो दिने, छोरी चेलीबेटी, इष्टमित्रहरुलाई बोलाउने र मिठो चोखो खाने परम्परा छ । 

यो चाडले आदिम कवियाली, शिकारी जीवनको समेत झझल्को दिने मानव इतिहासमा पहिलो इतिहास धनुष वाण चलाउने, तारा हान्ने प्रतिस्पर्धा गरी रमाइलो इतिहासको सम्झना गर्ने र गराउने ऐतिहासिक चाड हो । माघे संक्रान्ति बसन्त ऋतु, हराभरा नयाँ पालुवाको जीवन सुरु हुने खुशीयाली एवम् उत्सवको मनोवैज्ञानिक जीवनको नयाँ अनुभूति दिने पर्व हो । 

माघे संक्रान्ति मनाउनुको खास अर्थ छ । माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ । 

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ । यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।

माघे संक्रान्तिका दिन नेपाली प्रचलनअनुसार तरुल, पिँडालु, चाकु, घ्यू, तिलौरीलगायत खाने गरिन्छ । विशेष गरी तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको बिहान खाने प्रचलन रहेको छ । जसले गर्दा ‘पुसमा पाके माघमा खाके’ पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरूको माग बढी हुने गरेको छ ।

माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।

माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्‍याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको मान्यता छ । यसले सामाजिक सद्भाव बढाउने काम गर्छ र एकआपसमा आत्मियता बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow