बालेन र हर्कले नयाँ पार्टी खोल्दैछन् ? 

Apr 30, 2024 - 13:39
 0
बालेन र हर्कले नयाँ पार्टी खोल्दैछन् ? 

ललितपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हर्क साम्पाङको प्रशंसा गर्दै भने- ‘लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउनु भएको छ । आफैंले स्रोत साधन जुटाएर त्यति टाढाबाट पानी ल्याउन सफल हुनुभएको छ । सबै स्थानीय सरकार, प्रदेश र संघ सरकारले यो उदाहरण सिक्नु जरुरी छ ।’ १२३औं धरान स्थापना दिवसको अवसरमा गत शुक्रबार आयोजित कार्यक्रममा बालेनलाई पनि बोलाइएको थियो । त्यहि कार्यक्रम सम्बोधन गर्दै धरानका प्रमुख साम्पाङबारे गरेको प्रशंसा हो यो । 

सांसदहरुले केही गर्न सक्दैनन्, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ भन्ने गरिएको बताउँदै बालनेले भनेका छन्- ‘उहाँले गर्नुभएको काम गर्न मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । यो सांसदहरुले सिक्न जरुरी छ । देशको कुन सांसदलाई मेयर हर्क साम्पाङले गरेको काम अनुकरण गर्न कुन नियमले रोक्छ ?’

इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भनेर मेयर हर्क साम्पाङले देखाएको बालेनको भनाई थियो । ‘विशेषगरी सांसदहरुले उहाँबाट सिक्न जरुरी छ । ‘बोटबिरुवा जोगाउन, खोलानाला, पहाड जोगाउन सबै पालिकाहरुले धरानबाट सिक्नुपर्छ’, बालेनले भने ।  दुई लेनको सडक भएको बेला आफू धरान आएको, अहिले ४/६  लेन समेत बनेको देख्दा खुसी लागेको उनले सुनाए । तर कतिपय कुरामा धरान जस्तो छ, त्यस्तै रहनुपर्ने भन्दै मेयर बालेनले भने, यहाँको संस्कार सधैं जोगाई राख्नुपर्छ ।’

त्यस क्रममा बालेले आकाश भैरवको मूर्ति धरानका मेयर साम्पाङलाई मायाको चिनोका रुपमा हस्तान्तरण गरेका थिए । ललितपुरको पुरानो नाम ‘यल’ भएको बताउँदै बालेनले किरातीहरुको पहिलो राजा यलम्बरलाई काठमाडौंमा भगवान मान्ने गरेको सुनाए । ‘जसरी किरातहरुको राजा यलम्बरलाई यहाँ राजा मानिन्छ । हाम्रो काठमाडौंमा भगवान मानिन्छ, आकाश भैरव । यलम्बर राजा हाम्रो  लागि चाहिँ भगवान हो । उपत्यकामा आकाश भैरबको रुपमा हामीले यलम्बर राजालाई भगवान मान्छौँ’ उनले भने, ‘ललितपुरको नेपाल भाषामा नाम नै यल हो । यल भनेको यलम्बरको राज्य हो ।’

धरानमा मानव वस्ति बसेको एक सय २३ बर्ष पुगेको अवसरमा धरान उत्सव मनाइएको हो । धरानका जेष्ठ नागरिक एक सय तीन बर्षीया चन्द्रमाया कटुवालले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिईन् । सामाजिक कार्यक्रममा यस्ता कार्य दुर्लभ देखिने गरिएको छ । त्यसो त साम्पाङ्ले यस्तो थुप्रै उदाहरणीय कार्यहरु गरिरहेका छन् । तर, उनको आलोचना गर्नेहरु पनि प्रशस्तै छन् ।  

दलहरू असन्तुष्ट
बालेनलाई धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिएका थिए । सुरुदेखि नै सहयोग आदानप्रदान गर्दै आएका धरान र काठमाडौंका मेयर शुक्रबार एकै मञ्चमा देखिए । धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरिएको थियो ।  

यसअघि यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएका थिए । तर, प्रचण्डको सचिवालयले व्यस्तताका कारण धराउन आउन नसक्ने जवाफ दिएपछि मेयर साम्पाङ आक्रोशित भएका थिए । 

धरान उत्सवको प्रमुख अतिथिका रुपमा आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर हटाइदिएको साम्पाङले बताउँदै आएका छन् । साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्बिर राखेका छन् । 

हर्कले पुस १२ गते आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको राखेपछि राजनीतिक दलहरू असन्तुष्ट छन् ।  गत मंगलबार दलका कार्यकर्ताहरू मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर फेरि राख्न उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । ‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र ? कदापि गर्दिनँ !’, उनले भनेका थिए, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो । मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन ।’ 

आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराती राजा यलम्बरको फोटो राखेपछि यसमा तीव्र प्रतिक्रिया आयो । कसैले उनले अर्को क्रान्ति गरेको टिप्पणी गरे त कसैले यो उद्दण्डता भन्दै आलोचना पनि गरे । उनको यो कामको तारिफ गर्ने पनि देखिएका छन् । धेरैले ‘गुड वर्क’ भन्दै स्याबासी पनि दिएका छन् । तर, स्थानीय राजनीतिक दललाई हर्क यति धेरै अगाडी बढेको मन परेको छैन । धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् ।

गत बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् । ‘धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको  छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलंघन गर्ने कार्य गरेको हाम्रो ठहर छ ।’

बेघाले बल्ल पोखे आक्रोश 
हर्क साम्पाङलाई निरन्तर हासेरै साथ दिँदै आएका उपप्रमुख आइन्द्रबिक्रम बेघा आइतबारको कार्यापालियका बैठकमा भने आक्रोसित देखिए । साम्पाङलाई निरन्तर समर्थन गर्दै आएका उपप्रमुख बेघा १८ महिनापछि आक्रोशित बन्नुको मुख्य कारण थियो ।

कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषय । बेघाले यसबारे प्रसंग निकाल्दै फेसबुकमा प्रमुख साम्पाङले सेयर गरेको एउटा पोष्ट थियो । उक्त पोष्ट ‘कन्टेन्ट’मा आफुलाई विषालु भनिएको र मेयर साम्पाङले किन सेयर गरेको भन्दै आक्रोश पोखे । आफुले १८ महिनादेखि निरन्तर सात दिएको तर अहिले घाँटी अठ्याएको भन्दै विषालु मन भएको भिडियो भन्ने भिडियो सेयर गरेर असहयोग गेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे । बेघाले यसबारे प्रष्ट जवाफ नआएसम्म बैठकमा बोलिरहने र अघि बढ्न नदिने अडान राखिरहे । उनले बीचबीचमा प्रमुख साम्पाङलाई ‘अब तपाईलाई काम गर्न अफ्ठेरो हुन्छ’ भन्दै चेतावनी समेत दिएका थिए ।

 
बैठकमा उनीहरुबीचको चर्काचर्की भइरहेकै समयमा प्रमुख साम्पाङले वडाअध्यक्ष तथा कार्यापालिका सदस्यहरुलाई केही बोलिदिन आग्रह गरे । त्यसपछि वडाध्यक्षहरुले सबै सँगै मिलेर अघि बढ्न अभिभावकीय भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।  

आइतबार बिहान ८ बजेको बैठक उनीहरुबीचको आरोप प्रत्यारोप चलेर बैठक अघि बढ्न सकेन । अन्ततः प्रमुख साम्पाङले दिउँसो २ बजे बैठक पुनः बस्ने गरि स्थगित गरेका थिए । बैठक दिउँसो २ बजे भनिए पनि एक घण्टा ढिला गरि बैठक पुनः बस्यो । तर, बैठकमा प्रमुख साम्पाङले एजेण्डा प्रस्तुत गर्न लाग्दा उपमेयर बेघाले अवरोध जनाउदै आफुले असहयोग गरेको पुष्टि गर्न फेरि माग गरे ।

बेघाले बिहानकै कुरा दोहोर्याउदै विगत १८ महिनामा के के बिषयमा असहयोग गरे भनेर मेयर साम्पाङले पुष्टि गर्नुपर्ने बताए । मेयर साम्पाङले भने अहिले जवाफ दिन्न भन्दै एजेण्डा प्रस्तुत गर्न लाग्दा पनि उपमेयर बेघाले ‘मैले के मा असहयोग गरे पुष्टि गर्नुस्’ भन्दै कराईरहेको भिडियोमा देख्न सकिन्छ ।  उपमेयर बेघाले पुष्टि गर्नुस् भन्दै कराईरहे पनि मेयर साम्पाङले भने पेलेरै बैठक अघि बढेका थिए । उपमेयर बेघा कराइरहदा पनि मेयर साम्पाङले एजेण्डाहरु वाचन गरेर बैठक सञ्चालन गरेका थिए । उपप्रमुख बेघालाई वडाअध्यक्षहरुले पनि साथ दिएनन् । कार्यापालिका बैठकमा निकै हो हल्ला मच्चिएको थियो ।

के बालेन र हर्कले नयाँ पार्टी खोल्दैछन् ? 
पछिल्लो समय बालेन र हर्कले पार्टी खोल्ने चर्चा चलिरहेकै बेला यी दुई यसरी नजिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैले उनीहरु यसरी नै मिलेको हेर्न चाहेका छन् । धरानमा उनीहरु एकै मञ्चमा देखिएपछि बालेन र हर्कका समर्थक खुशी भएका छन् ।

धरानको एयरपोर्ट लगायतको विभिन्न माग लिएर गत महिना संघीय राजधानी आएका साम्पाङ र बालेनबीच भेटघाट भएको थियो । भेटका क्रममा उनीहरु दुईजना मात्रै केही घण्टा छलफल गरेका थिए । छलफलपछि साम्पाङले पार्टी खोल्नेबारे छलफल भएको तर, अहिले खुलाउन नमिल्ने प्रतिक्रिया दिएका थिए ।  त्यसपछि प्रमुख साम्पाङले नयाँ राजनीतिक पार्टीबारे सामाजिक सञ्जालमा निरन्तर आफ्ना समर्थकसँग सुझाव, अपेक्षा साथ मागिरहेका छन् । बालेनसँगको तस्बिर सेयर गर्दै साम्पाङले लेखेका छन्- ‘जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !’ यसको मतल प्रमुख साम्पाङले उनीहरु मिलेर नयाँ पार्टी सुरु गरे राम्रो हुने अपेक्षा गरेका छन् । 

यस्तै प्रमुख साम्पाङले अर्को पोस्ट गर्दै अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत दिएका छन् । उनले जनतासँग प्रश्न गर्दै लेखेका छन्- ‘यदि हामीले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’ बेकामे कानुन बदल्न र भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टी चाहिने साम्पाङको तर्क छ । ‘भ्रष्टाचार र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु  म अब । मेरो साथमा को-को हुनुहुन्छ ?’ हतार नगर्नु नयाँ शक्ति निर्माण हुनेछ । यसबारे बालेनको भने कुनै प्रतिक्रिया आएको छैन । 

बालेन र हर्क दुवैले नै नेपालमा पुराना र स्थापित राजनीतिक दल र संघीय सरकारप्रति आक्राम अभिव्यक्ति दिँदै आएका छन् । हत्तपत्त सार्वजनिक कार्यक्रममा नदेखिने बालेन तर, साम्पाङको निम्तोलाई भने स्वीकारेर उपस्थित भएपछि धरानवास् समेत आश्चार्य परेका छन् । यसरी उनीहरुबीचको जोडि जम्न थालेपछि धेरैलाई उनीहरुले नयाँ राजनीतिक दल खोल्छ भन्ने चासो बढेको देखिन्छ । 

दलीय र संसदीय अभ्यास गरिरहेको मुलुकमा नयाँ दल खोल्नु कुनै अनौंठो भने होइन । जनतालाई ठुलाठुला सपना देखाएर देशमा ठुलै परिवर्तन ल्याउँछौँ भन्दै भोट मागेर संसदमा पुगेकाहरु पनि अहिले पुरानै जसरी बाटोमा देखिएपछि जनता निराश छन् । यदि बालेन र हर्कले नयाँ पार्टी खोलेर केही फरक गर्ला कि भन्ने धेरैलाई चासो बनेको छ । यसबीच कतिपयले सामाजिक सञ्जालमा यदि उनीहरुले पार्टी खोले भने खुलेरै समर्थन गर्ने पनि प्रतिक्रिया दिइरहेका छन् । कतिपयले भने पुरानो राजनीतिक दललाई ठूलो चुनौती समेत हुने बताएका रहेका छन् । 

तस्बिर : प्रतित चाम्लिङ 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow