सगरमाथा

सगरमाथाको पामन फेरि किन गरियो ?

Jan 26, 2024 - 22:11
 0
सगरमाथा

काठमाडौं । पर्यटन गन्तव्यका लागि नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा पर्छ । सगरमाथा संसारकै सबैभन्दा अग्लो चुचुरो शिखर ‘हिमाल’ नेपालको गौरव र पहिचान हो । सगरमाथाको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) रहेको थियो । तर, नेपाल सरकार र चीनले एकै पटक गत बर्षको मंसिर २३ गते सगरमाथाको उचाई सार्वजनिक गर्दै यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाई हाल ८ हजार ८ सय ४८.८६ पुगेको हो । 

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।
सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । यसको पुरानो खास नाम चोमोलुङ्गमा हो । 

विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।

यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थानमध्ये एक हो, सगरमाथा अर्थात् सगरमाथा पदयात्रा । यो पदयात्रामा बर्सेनि हजारौंको संख्यामा पर्यटक आउने गर्छन् । कोही विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आउँछन् भने कोही सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरेर फर्कने गर्छन् । यो क्षेत्रमा नेपालीभन्दा विदेशी पर्यटकहरु बढी जाने गर्छन् । तर, पछिल्लो समय नेपाली पर्यटकहरु समेत उल्लेखनीय रुपमा आउने गरेका छन् । 

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि विशेष गरी सगरमाथालाई आँखै अगाडिबाट हेर्ने हो भने सबैभन्दा उपयुक्त स्थल हो कालापत्थर । जुन समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा छ । यो नै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट अवलोकन गर्ने उपयुक्त ठाउँ हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमाल हेर्न सकिन्छ । तर, कुन हिमाल हो भनेर कुनै पनि जानकारी नहुँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।

किन फेरि सगरमाथाको पामन गरियो ? 
सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए । 

सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए । नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ । उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो । नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पु¥याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो । सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए ।

उनीहरूले पनि भूउपग्रहण प्रणाली र राडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेका थिए । यसअघि चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी)ले सन् २००५ मा गरेको उचाइलाई आधार मानेर सगरमाथाको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको छ । उनीहरुले सगरमाथाको चट्टानसहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।

गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका थिए ।

सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ नामाकरण गरिएको हो । विगतमा कयौं पटक सगरमाथाको उचाइ मापन गरिए पनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन अनुसार ८ हजार ८ सय ४८ मिटर उचाईलाई नै आधिकारीक मान्दै आएको थियो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबचि ८८४८ मिटरलाई मान्यता दिने साझा धारणा बनेको हो । यसअघि सगरमाथाको उचाई नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति २०१९ को अक्टोबरमा भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow