साकेला र समाज सम्बन्ध

Jan 27, 2024 - 00:58
 0
साकेला र समाज सम्बन्ध

काठमाडौं । साकेला किरात राईहरुको महान् चाड अर्थात् अवसर हो । किरात राईहरुले प्रमुख चाडका रुपमा मनाउने साकेला एक बर्षमा दुईपटक पर्छ । किरात राई समुदायमा मौसम अनुसार प्रकृति र पितृको पूजा गरिन्छ र यसलाई एक अवसरको रुपमा लिइन्छ । साकेला उभौली र उधौलीको रुपमा मनाईन्छ । वैशाखमा मनाइने उभौली साकेला हो भने मंसिरमा मनाइने उधौली साकेला हो । साकेलाको बेला किरातीहरुले प्रकृतिको पूजा गरी मीठो खाने, नाच्ने र गाउने भएकाले यसलाई महान् चाड भनिएको हो ।

 किरात राइ समुदायमा दुईवटा मात्रै ऋतु हुन्छन् । जुन् उभौली र उधौली दुवै शब्दले मौसम वा ऋतु जनाउँछन् । किरातीहरुको जीवनमा साकेला संस्कृतिको विशेष प्रभाव र महत्व छ । भाषागत विविधता अनुसार राई समुदायबीचमा यो महान चाड साकेलाको नाम विभिन्न छ । नाममा विविधता भए पनि साकेलाको मूल मर्म, दर्शन र मूल्य मान्यता एउटै हो । 

साकेलाको उत्पत्ति र स्थापना भोजपुरको छोङ्खा र तुवाचुङमा भएको विश्वास गरिन्छ । राइका प्रारम्भिक बस्तको रुपमा पनि यिनै ठाउँलाई लिइन्छ । पछि यी बाहेक अन्य ठाउँका साकेला भने किरातीहरुको बसाँसराईका क्रममा विस्तार हुँदै गएको बताइन्छ । 

किराती समुदायका हरेक संस्कृतिको उत्पत्ति कथा अर्थात मिथक छन् । ती मिथकले संस्कृतिको उत्पत्ति र प्रचलन अनुसार विविध भाषी र भूगोलका आधारमा साकेलाबारे विभिन्न मिथक छन् । तर, यसको दृष्टिकोण, दर्शन, मूल्यमान्यता र मर्म भने एउटै पाइन्छ ।  

साकेलाको बेला मुख्य त पितृ र प्रकृति पूजा गरेर मानव समुदायलाई बर्षभरि ‘शुभ’होस भन्ने कामना गरिन्छ । खेती लाउनुपर्ने भएकाले समयमै बर्षात् होस्, बाली सप्रिउन, दैवीप्रकोप नपरोस्, बालबच्चालाई रोगव्याधी नलागोस्, चोटपटक नलागोस्, सुखशान्ति छाओस् भन्ने कामनासहित साकेला मानिन्छ । यस्तै, साकेलामा आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरुको सामाजिक क्षेत्रको कार्य योगदानप्रतिको सम्मान र सम्झना लागि गरिने चलन छ । 

मंसिरमा मनाइने साकेलालाई उधौली साकेला भनिन्छ । उधौली साकेलाले चिसो याम भएको संकेत गर्छ । अर्थात यो याममा जनिमको उच्च भागबाट तल्लो भागतिर विस्तारै चिसो फैलिन्छ । चराचुरुङ्गी जाडो छल्न उँधो वा मधेसतिर झर्ने गर्छ । रुख विरुवाका पात खस्ने भएकाले साकेलाको मंसिरे अवसरलाई उधौली भनिएको हो । यसलाई छिरिनाम सेवा पनि भन्छि । जसको अर्थ- बर्षको अन्त्य हुन लागेको संकेत हो । भोर्लाको पात छिप्पियो र उधौली सेवामा भोर्लाको पात छिप्पिनु बर्षको अन्त् हुन लागेको संकेत मानिन्छ ।  

वैशाखमा मनाइने साकेलालाई ‘साकेला उभौली’ भनिन्छ । वैशाखमा भुगोलको तल्लो भागबाट गर्मी बढ्दै उँभो लेकतिर लाग्छ । यो समय जाडो छल्न गएका चराचुरुङ्गी फर्केर आउँछन् । माछाहरु भने लेकतिर चढ्छन्, उँभो लाग्छन् । यसर्थ यसलाई उभौली साकेला भनिन्छ । साकेला उभौली सेवालाई धिरिनाम पनि भन्छि । जसको अर्थ नयाँ बर्ष सुरु भयो भन्ने हो । अर्थात भोर्लाका नयाँ पात पलायो र बर्षा लाग्यो भन्ने बुझिन्छ । 

साकेलाको समयमा विशाल नाच ‘नृत्य हुन्छ । साकेला नाच्दा उमेर, लिङ्ग, पदीय हैसियत र आर्थिक अवस्थाको छेकवार हुँदेन । साकेला नाच्दा सिलीको प्रयोग गरिन्छ । सिलिमार्फत मानवइ जीवनपद्धती, मानव र प्रकृति, अर्थात आत्मसंगको विश्वास र सम्बन्धबारे प्रस्तुत गरिन्छ ।

जस्तै, सिलिमा अन्नको बिउ छर्ने, सार्नेदेखि पाकेपछिको थन्क्याउने क्रियाकलापलाई कलात्मक तरिकाले अभिनयमार्फत सिलि नृत्यमा प्रस्तुत गरिन्छ । त्यस्तै, सिलिमार्फत मृतात्मालाई पनि सम्झिने गरिन्छ । सिलि शारिरिक व्यायाम, मनारोञ्जनको माध्य र सामाजिक सम्बन्धको मेसो पनि मानिन्छ । साकेला नाच सामुहिक रुपमा नाचिन्छ अर्थात सामाजिक सद्भाव सिर्जना हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow