समाजवादका लागि नेता र जनता कस्तो हुनुपर्छ ? 

Feb 17, 2024 - 13:01
 0
समाजवादका लागि नेता र जनता कस्तो हुनुपर्छ ? 

काठमाडौं । विश्व चर्चित क्रान्तिकारी नेता चे ग्वेभाराकी छोरी डा. अलिदा ग्वेभारा यतिबेला नेपालमा छिन् । विश्व सामाजिक मञ्चको कार्यक्रममा सहभागी हुन् काठमाडौं आएकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भएकी छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एक कार्यक्रममा भेटिएकी थिईन् । 

एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको समाजवादको सम्भावनाकाबारे विचार मन्थन कार्यक्रममा प्यानलिस्टका रुपमा सहभागी ग्वेभाराले समाजवाद किन चाहिन्छ र क्युबा कसरी विश्वमा टिकेको छ भन्नेबारे चर्चा गरिन् । 

नेता भनेको जनताको आवाज सुन्ने र देशको हितको सन्दर्भमा कसैसँग नझुक्ने व्यक्तिले नै राष्ट्रको नेतृत्व गर्ने र उसकै नेतृत्वमा समाजवाद स्थापना हुने उनले बताईन् । 

उनले समाजवादको आधारभूत मान्यता देशको उत्पादनको मालिक जनता हुनुपर्ने बताईन् । ‘जमिन कसैको पनि व्यापार हुनुहुन्न यो त जनताको अधिकारको विषय हो । त्यसैले प्रत्येक देशमा जनताको बीचमा परिवर्तन ल्याउन जरुरी छ । जनता स्वतन्त्र हुन राज्य स्वतन्त्र हुन जरुरी छ’, उनले भनिन् । ‘सचेत जनताले देशको रक्षा गर्छन् । त्यसैकारण सचेत जनता बनाउन सबै राष्ट्रमा जनतालाई दिने शिक्षा स्वतन्त्र र निःशुल्क हुन जरुरी छ । सचेत जनतालाई मात्र कसैले पनि ठग्न सक्दैन, ठगीबाट बच्न जनतालाई शिक्षित र सचेत बनाउन जरुरी छ ।’

उने देश विकासको लागि जनतालाई स्वस्थ बनाउन जरुरी बताउँदै सबै जनताको लागि स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा व्यवस्थित गरिनुपर्ने उल्लेख गरिन् । ‘त्यसको लागि राष्ट्रमा अवश्य रुपमा आर्थिक सबल अवस्था र पैसा जरुरी छ । शिक्षा र स्वास्थ्य जनतालाई निःशुल्क गर्न हामीले गरेको चिजमा हाम्रो अधिकार हुनुपर्छ, त्यसमा कसैको व्यापार हुनुहुन्न । यी कुराहरु मानव जीवनका लागि अति आवश्यक छन्’, उनले भनिन् ‘शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास, जहाँ हाम्रा जनताको लागि रात बिताउन एउटा घर होस् । त्यही भएर सबै जनताले आफ्नो राष्ट्रमा आफैं उत्पादनमा सहभागी हुनुपर्छ । सबै जनतामा आफूले क्षमतावान भई काम गर्न क्षमताको विकास गर्न जरुरी छ ।’ 

परिवर्तन गर्न खोज्दा धेरै कठिनाइ आउने भन्दै उनले भनिन्, ‘यदि हामीले हाम्रो ऐन,कानूनमा रहेका कमजोरी हटाएर अघि नबढ्ने हो भने यस्तो परिर्वतनको अपेक्षा असम्भव छ । अरु पनि यस्तै गम्भीर समस्याहरु छन् ।’

‘हामी सोच्न सक्छौं, हाम्रो आर्थिक अवस्थालाई छिटो परिवर्तन कसरी गर्ने ? तर, आर्थिक अवस्थालाई परिवर्तन गर्ने निहुँमा आफ्नो देशको शीर झुकाउने विचार ल्यायौं भने त्यसले लामो परिवर्तनको बाटो लिँदैन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा जनतालाई शिक्षित गर्ने, सांस्कृतिक परम्परालाई पनि अंगीकार गर्दै विचार परिवर्तन गर्नु महत्वपूर्ण कुरा हो ।’

यस्तै, उनले महिलाको सक्रिय सहभागिताविना कुनै पनि क्रान्ति सफल नहुने बताईन् । महिला वर्ग भनेको आफ्नो क्षेत्रको लागिमात्र लड्ने नभइ समाजको परिवर्तनको लागि लड्ने र भविष्यको सन्तानको लागि पनि लड्ने प्राणी रहेको बताईन् । समाजवादी राष्ट्र स्थापनाको लागि महिला र पुरुष समान रुपमा अघि बढ्नुपर्छ र बराबरी हक अधिकार पाउनुपर्ने उनको भनाई छ । 

एउटा क्रान्तिकारी नेताले देशमा परिवर्तनको लागि समाज र राष्ट्रको लागि संस्कृति र नैतिकतालाई बिर्सनु नुहने भन्दै उने कतिपय समस्या नेताको कारणमा मात्र नभएर जनताको र समाजको परिवारको कारण पनि उत्पन्न हुने बताईन् । 

‘मेरो बुबा चे ग्वेभाराले भन्नुहुन्थ्यो, जब म मेरो छोरालाई जुत्ता लगाइदिने कुरा सोच्छु, त्यसबेला भ्रष्टाचारको सोच आउँछ । सबै जनताले जुत्ता लगाउने कुरा सोच्नुपर्छ । यो विचार नयाँ पुस्ताको लागि एकदमै सिकाउन जरुरी छ । कुनै पनि नेतालाई भगवान जस्तै मान्नुभन्दा पनि हामी सबै मानव जस्तै ठानियो भने त्यहाँ समानता हुन्छ’, उनले भनिन् । 

‘अहिलेको युगमा समाजका युवा वर्गले समाजवादलाई रामो दृष्टिले हेरेको छैन भने जान्नुपर्छ कि हामीले युवालाई रामोसँग शिक्षित बनाउन सकेका छैनौं’, उनले भनिन्, ‘यो एकदम महत्वपूर्ण विषय हो कि अहिलेको युवालाई समाजवादबारे कसले र कसरी नेतृत्व गरेको छ भन्ने शिक्षित गर्न जरुरी छ ।’

नेताले समाजमा रहेका युवालाई कुनै कुरामा बाध्य बनाउन उचित नहुने बताउँदै उनले भनिन्, ‘मेरो बुबा भन्नुहुन्थ्यो, अरुलाई जबरजस्ती धकेल्न हुन्न । देश विकास र समाजवाद स्थापनाका लागि बलियो जनता चाहिन्छ ।
जनता एकजुट भएमा मात्र त्यो ऊर्जा शक्ति प्राप्त गर्न सक्छौं ।’  

क्युबामा नेपालको तुलनामा धेरै जनता छन् । तर, क्युबामा नेपालमा भन्दा थोरै क्षेत्रमा पनि धेरै उत्पादन गर्ने क्षेत्र विकास भएको उनले बताईन् । पहिलेदेखि अहिलेसम्म क्युबाको क्रान्ति निरन्तर अघि बढिरहेको भन्दै उनले आर्थिक रुपमा नाकाबन्दी भए पनि देश स्थिर र सक्षम भएर बसेको सुनाईन् । 

‘क्युबाको अवस्था अहिले पनि गाह्रो नै छ । तर, कसैले पनि क्युबा र क्युबाली जनतालाई हेप्न सक्दैन । किनभने क्युबाली जनता एकजुट छन् । क्युबाका धेरैभन्दा धेरै भूभागमा सबै जनता एकापसमा एकजुट भएर आफूले गर्ने काममा क्षमताका साथ लागेका छन् । समाजवाद पूर्ण भएको छैन । तर, क्युबामा समाजवाद विकास भइरहेको छ ।’

सबैले आफ्ना कमजोरी औंल्याएर आफैं सुधार्ने कोसिस गरिरहेको र जनताको एकता सबैभन्दा महत्वपूर्ण विषय रहेको उनले बताईन् । क्युवाका नेतृत्वलाई गर्नुपर्ने आदर उत्तिकै महत्वपूर्ण रहेको सुनाईन् । समाजवाद भविष्यको लागि महत्वपूर्ण विषय भएको त्यसैले समाजवाद भनेर देखाउन जरुरी रहेको उनको भनाई छ । 

‘हामी कोही खेतमा काम गर्ने किसानसँग समाजवादको कुरा गर्दैछौं भने उसले काम गर्ने धर्तीको महत्वबारे कुरा गर्नुपर्छ । तपाईं लिडरको हिसाबले समाजवादको कुरा गर्दै हुनुहुन्छ भने सधैं आफ्ना जनताको पक्षमा हुनुपर्छ । यदि किसानबाट आफ्नो खेत छिन्यो भने, कुनै कर्मचारीलाई आफ्नो कामबाट निकाल्यो भने त्यहाँ उनीहरुसँग हुन जरुरी छ, क्रान्तिकारी नेतृत्व समाजवादको लागि’, उनले भनिन् ।  

जनतासँग परिवर्तनको अपेक्षा राख्ने हो भने यही जनतालाई नेतृत्वको हिसाबले देखाउन जरुरी रहेको उनको भनाई थियो । तर, समाजवाद ल्याउनु सजिलो विषय नभएको भन्दै उनले संसारमा मानव जातिलाई स्वतन्त्र रुपमा बाँच्न दिने हो भने त्यही भएर आजदेखि नै काम गर्न थाल्नुपर्ने तर्क गरिन् । 

‘सबै कामको लागि जनाको लागि एउटै उद्देश्य र मिसनका साथ अघि बढ्न एउटा कम्युनिष्ट पार्टी आवश्यक पर्छ । विभिन्न पार्टीहरुको नाम फरक भएर केही फरक पर्दैन । तर, उद्देश्य साझा हुन जरुरी छ’, उनले भनिन्, ‘मुख्य उद्देश्य भनेको हाम्रा जनताको स्वास्थ्य, शिक्षा ठीक हुनु नै सबै पार्टीको साझा उद्देश्य हुन जरुरी छ । जनताको राम्रो जीवनयापनको लागि सबै नेतृत्वले साझा उद्देश्य लिएर अघि बढ्नुपर्छ । सबै जना त्यही बाटोमा हिँडौं, समाजवाद आउनेछ ।’ क्युबाली क्रान्तिका नायक चे ग्वेभारा संसारमा समाजवाद स्थापनाको लागि गुरिल्ला लडाइँ लड्ने क्रममा अमेरिकाद्वारा मारिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow