सुरक्षामा गम्भीर लापरबाही

११ वैशाख २०८१
Apr 23, 2024 - 01:32
 0
सुरक्षामा गम्भीर लापरबाही

काठमाडौं । ​​देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले संसद्‌ भवन अगाडि प्रदर्शन गरेका छन् । 

आइतवार सिफलमा थाल ठटाएर प्रदर्शन गरेका उनीहरू सोमवार नयाँबानेश्वरको संसद् भवन प्रवेश गरेका हुन् । पीडित र प्रहरीबीच धकेलाधकेल भएको थियो । 

माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूले बताउँदै आएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पनि लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।  यसबीच बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसदभित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उच्च सुरक्षा हुनुपर्ने स्थानमै भएको उक्त घटनाले गम्भीर सुरक्षा लापरबाही देखिएको छ । सरकारले सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन लगायतका महत्त्वपूर्ण क्षेत्रको सुरक्षा संवेदनशीलतालाई कारण देखाएर त्यस वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । तर, त्यही निषेधित क्षेत्रभित्र पर्ने संघीय संसद् भवन परिसरमा सोमबार नाराबाजीसहित एउटा समूह छिरेर प्रदर्शन गर्नुले सुरक्षा कस्तो भन्ने छर्लङ्ग देखिएको हो । उच्च सुरक्षा हुनुपर्ने स्थानमै भएको उक्त घटनाले गम्भीर सुरक्षा लापरबाही देखाएको हो । 

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री, सांसदहरू सबै उपस्थित रहेका बेला संसद् भवनभित्र बाहिरको समूह प्रवेश गरेर प्रदर्शन गर्नुले त्यहाँको सुरक्षाको दुरावस्था छर्लङ पारेको हो । 

बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति पनि बनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । 

समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् । एक अधिकृतका अनुसार समितिलाई लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । 

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow