भाजपा एकल बहुमत ल्याउन असफल 

Jun 5, 2024 - 10:42
 0
भाजपा एकल बहुमत ल्याउन असफल 

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत ल्याउन असफल भएको छ । परिणामअनुसार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य दलको समेत समर्थन जरुरी देखिएको छ । 

मोदीले नीतीश कुमार र चन्द्रबाबु नायडूको समर्थनमा मात्र सरकार बनाउन सक्ने अवस्था उत्पन्न भएको हो । प्रधानमन्त्री मोदीले चुनावी प्रचारका क्रममा भाजपा एक्लैले ४०० भन्दा बढी सिट ल्याउने दाबी गरे पनि अहिले मतपरिणाममा २४० सिट मात्र भाजपाले सुरक्षित गर्न सकेको छ । २४० सिट कम नभए पनि पहिला दोब्बरको आशा देखाइएकोले यसको तुलनामा यो सिट निकै कम हो ।

सरकार बनाउनको लागि २७२ सिट चाहिन्छ । यद्यपि, भाजपा गठबन्धनको पक्षमा २९२ सिट आएको छ । विपक्षी इन्डिया गठबन्धनलाई २३४ सिट प्राप्त भएको छ । 

इन्डिया गठबन्धनका सुत्रधार जेडीयू अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नीतीशकुमार गएको जनवरीदेखि भाजपा समर्थित गठबन्धनमा आएका हुन् । बिहारमा एनडीएसँग मिलेर सरकार बनाउने भनेपछि लोकसभा निर्वाचनमा पनि सोही गठबन्धनबाट चुनाव लडेका हुन् । जेडीयूले आफ्नो अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेर बिहारमा १२ सिट जितेको छ । भाजपालाई पनि १२ सिट नै मिलेको छ । 

बीबीसीका अनुसार आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूको तेलगू देशम पार्टीले १६ सिट पाएको छ, जसले मोदीविरुद्ध विगतमा मोर्चा खडा गरेको थियो । अहिले भने एनडीए गठबन्धनमा उनी महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका छन् । सत्ता समीकरणमा अब चन्द्रबाबु नायडू र नीतीश कुमारले किंगमेकरको भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow