जितपछि सुहाङको सन्देश

Apr 30, 2024 - 14:06
 0
जितपछि सुहाङको सन्देश

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । 

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् । माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । 

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका थिए ।  जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् । यस्तै, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’, भनिएको छ । 

प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।  मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए । उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ । उपचुनावको नतिजाले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्ति उत्साहित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेकपा एमालेलाई उत्साहित तुल्याएको हो । 

अधिवक्तादेखि सांसदसम्मको यात्रा
सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका उनले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि उनी अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर नेपाल फर्किए । 

स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानून संकायमा बीएलएलबी, वाणिज्य कानूनमा एलएलएम अध्ययन पूरा गरे । सुवासले आफू कानून पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानून नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

सुहाङको लगाव खेलकुदमा बढी थियो । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजका हरेक खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । उनले इलामको खेलकुद विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरेका छन् । पछिल्लो समय सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्थे । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, शालीन र नरम स्वाभावका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन् । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन् ।

सानैदेखि राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएका उनले परस्थितिले सोचेभन्दा अलि अघि मैदानमा आउन बाध्य भएको बताउँदै आएका छन् । शालीन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । सुहाङका एक दाजु, एक दिदी र एक बहिनी छन् । दिदी सुसाङ पेशाले डेण्टल सर्जन छिन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छिन् ।

जितपछि सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्- ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको बताएका छन् । इलामेलीको सेवाको लागि आफ्नो हात समाएर पठाएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आभार व्यक्त गरेका छन् ।

यस्तो छ उनको भनाइ

हार्दिक आभार तथा धन्यवाद १

अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु  !

इलाम क्षेत्र नं। २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ ।

हाम्रा अग्रजहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौं । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा(सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।

सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम स् सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु । इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

तपाईं हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरुले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरुको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।

‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरुले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भबिष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु ।

समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरु मसँग सुरक्षित छन् । तपाईहरुसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गदर्छु ।

मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।

नेकपा (एमाले) इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो संकल्पका साथ अहोरात्र खट्नुहुने नेकपा ९माओवादी केन्द्र०, नेपाल कम्युनिष्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरुप्रति आभार व्यक्त गर्दछु ।

म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु ।

हाम्रो सपना र संकल्पलाई जनताका वीचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरु, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

गएको एक महिनायता सफलताको संकल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरु, मत दिनकै लागि प्रवास, काठमाडौंदेखि समेत आइपुग्नुभएका प्रियजनहरुप्रति कृतज्ञ छु । स(शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरीबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।

अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरुले परिर्वतनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौं ।’

हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो । इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद  !

१८ वैशाख २०८१
इलाम
उही तपाईंहरुको स्नेही
सुहाङ नेम्वाङ

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow