गाविस अध्यक्षदेखि प्रदेशसभासम्म 

Apr 30, 2024 - 11:59
 0
गाविस अध्यक्षदेखि प्रदेशसभासम्म 

बझाङ । बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । 

माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याए । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । 

छबिसपाथिभेरा गाउँपालिकाको भण्डारी गाउँमा जन्मिएका नवनिर्वाचित ५७ वर्षीय दमनबहादुरले २०४१ देखि अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक थालेका थिए । बझाङमा लैंगिक हिंसाविरुद्ध अभियानसमेत चलाएका भण्डारी एमालेभित्र भद्र र शालीन व्यक्तिका रूपमा चिनिन्छन् ।

२०५४ मा तत्कालीन मटेला गाविसको अध्यक्षमा निर्वाचित भएयता उनी लाभको पदमा थिएनन् । २०५५ मा एमाले जिल्ला सदस्य हुँदै २०६९ को सातौं अधिवेशनबाट पार्टीको जिल्ला सचिव र पछि अध्यक्ष भएका थिए । उनी यस उपनिर्वाचनका लागि क्षेत्रीय समन्वय कमिटीमा ६ जना आकांक्षीबीचको आन्तरिक मतदानमा सबैभन्दा बढी मत पाएर उम्मेदवार छनोट भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow