‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

May 6, 2024 - 22:40
 0
‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टिजर सार्वजनिक गर्दै निमार्ण टिमले प्रदर्शन मिति तय गरेका हुन् ।  फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको हो । 

सार्वजनिक दुई मिनेटको टिजरले परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष, नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबु छोराको सम्बन्धमा नवनिर्मित बाटोले ल्याएको उतार चढावबारे देखाएको छ ।

फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् । बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । टिजरको दृश्य कम्पोज, रङ संयोजक र पार्श्वध्वनि सशक्त रहेको छ । निर्माण पक्षका अनुसार ‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ), माइली (पशुपति) र उनीहरूको छोरा बिन्द्रे (प्रसान)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ । 

‘नुमाफुङ’ बनाएर फरक धारका चलचित्रका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने प्रदर्शनमा भएको छैन । विश्वको प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर समेत भएको यो फिल्म ‘गाउँ आएको बाटो’ बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलमा पनि स्क्रिनिङ भएको छ । 

फिल्मको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् । यो फिल्मको लेखन निर्देशक सुब्बा र महेश राईले गरेका हुन् भने आमोद राई निर्माता हुन् ।

मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा फिल्मको नेपालमा रिलिज हुन लागेको हो । सो मितिमा यो फिल्म विश्वव्यापी प्रदर्शन हुनेछ। टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’लाई अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow