खुलामञ्चबाट नागरिक अधिकार आवाज 

 0
खुलामञ्चबाट नागरिक अधिकार आवाज 

काठमाडौं । खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । सोमबार टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेलाको आयोजना गरेको हो । खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो ।

खेल मैदान बनाउन तयारी गरेर सम्याउन डोजर चलाएर सफा गरिरहेको चौरमा अभियन्ताहरू पुगेर नागरिक आवाज उठाएका हुन् । खुलामञ्चमा काठमाडौं महानगरपालिकाले खेल मैदान बनाउने तयारी गरेपछि विरोध हुँदै आएको छ । 

महानगरपालिकाले खेल मैदानका लागि दुबो रोप्न अहिले दैनिक ५० सरसफाइकर्मी परिचालन गरेर चौरमा भएको ढुंगा, फोहोर हटाउने कार्य गरिरहेको छ । कृत्रिम दुबो रोप्ने योजनाबाट पछाडि हटे पनि महानगरपालिकाले खेलमैदान बनाउने योजना भने यथावत नै राखेको छ । दबाब कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले कुनै पनि बहानामा खुलामञ्चलाई विस्थापित गर्न नहुने बताए । खुलामञ्च नेपालको प्रजातान्त्रिक आन्दोलनको उद्गमस्थल रहेको भन्दै यसलाई मासिन दिनु नहुने उनको भनाई थियो । ‘यो नागरिकको हितका लागि खुला राख्नुपर्छ,’ उनले भने । 

उनले भूकम्प लगायत प्राकृतिक प्रकोपका समयमा पनि खुलामञ्च आश्रयस्थल बन्ने गरेको उनले सुनाए। यससँगै काठमाडौंको पानी सोसिने स्थल भएकाले पनि खुलामञ्च जोगाउनुपर्ने बताए । त्यस्तै, सर्जक मिलन राईले खुलामञ्च विचारको ‘स्पेस’ भएको उल्लेख गरे । सबै विचारलाई स्थान दिने भएकाले पनि खुलामञ्च सबैका लागि खुला हुनुपर्ने उनको भनाई थियो । अभिनेत्री उषा रजकले खुलामञ्चलाई खुम्च्याउन नहुने बताइन्। खुलामञ्चलाई सधैं खुला राख्न नागरिक स्तरबाट पनि पहल र दबाब जारी राख्नुपर्ने बताईन् । 

खुलामञ्च प्रजातन्त्र र लोकतन्त्र रक्षाको आवाज समेट्ने स्थल भएकाले यसको महत्त्व काठमाडौं महानगरले बुझ्नुपर्ने रवीन्द्र श्रेष्ठको भनाई थियो । उनले खुलामञ्चलाई खुलै राख्न महानगरलाई अपील गरे । त्यस्तै, अभियन्ता आलोक तुलाधरले खुलामञ्चलाई फूटबल मैदान बनाउने निर्णय फिर्ता लिन काठमाडौं महानगरलाई आग्रह गरे । महानगरले खुलामञ्चमा कुनै संरचना बनाउन नहुनेमा उनको जोड थियो । 

नागरिक अभियन्ता गोविन्द छन्त्यालले लोकतन्त्र र गणतन्त्रका लागि खुलामञ्च प्रतीकका रूपमा रहेको बताए । ‘खुलामञ्च निश्चित जग्गा मात्र होइन, यो खुला विचार र खुला आकाश, खुला जग्गाको आस्था हो,” छन्त्यालले भने। मञ्चलाई विस्थापित नगरी जनताको स्वामित्वमै राख्नुपर्ने बताए । खुलामञ्चमा अर्को कुनै भवन बनाएर यसको इतिहास मेटाउन नहुने बागमती प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्यले बताए । 

काठमाडौं महानगरले खुलामञ्चमा फूटबल मैदान बनाउने तयारी गरेपछि नागरिक अगुवा विरोधमा उत्रिएका हुन् । सबैतिरबाट विरोध हुन थालेपछि महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जाल मार्फत खुलामञ्चलाई खुलै राख्ने प्रतिबद्धता जनाएका थिए । तथापि महानगरले निर्णय फिर्ता नगरेकाले दबाब दिन प्रदर्शन गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow