खुकुरीको मौलिकता बचाउन ‘पौरख’ गरिरहेका महेन्द (भिडियो)

May 6, 2024 - 17:22
 0
खुकुरीको मौलिकता बचाउन ‘पौरख’ गरिरहेका महेन्द (भिडियो)

भोजपुर । खुकुरीले प्रसिद्ध जिल्ला हो भोजपुर । देश विदेशमा पहिचान बनाएको भोजपुरे खुकरीको सान जति महत्व छ यो पेशा त्यति नै संकटमा पनि छ । पछिल्लो समय यो पेसाप्रति युवाको आकर्षण घट्दो छ, तर ५७ बर्षिय उद्यमी महेन्द्रकुमार विश्वकर्मा पुख्र्यौली पेसा भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै नयाँ पुस्तासम्म पुर्याउन जुटिरहेका छन् । 

पुर्खा जिजुबाजेले ४ सय बर्ष अघि गर्दै आएको परम्परागत खुकुरी बनाउने पेसालाई वडा नम्बर ५ बोखिमका महेन्द्रकुमारले निरन्तरता मात्रै दिइरहेका छैनन् । विदेशप्रतिको मोह त्यागेर पुख्र्यौली कालिगड पेसा गर्दै आएका उद्यमी महेन्द्रकुमारले मनग्य आम्दानी पनि गरिरहेका छन् ।

खुकुरीको उपहार
भोजपुरे खुकुरीको महत्व बेग्लै छ । प्रयोग गर्ने चलन र उद्देश्य परिवर्तन भएको छ । उहिले खुकुरी घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्थे । अहिले उपहार र सजावटका लागि प्रयोग गर्ने चलन बढेको छ । पछिल्लो समय भोजपुरे खुकुरी चिनोको रूपमा महत्व छ । उत्पादित ८० प्रतिशत खुकुरी सजावट र उपहारका लागि प्रयोग हुने गरेको छ । बाँकी २० प्रतिशत मात्रै घरायसी औजारका रूपमा प्रयोग हुने गरेको उद्यमीहरू बताउँछन् ।

विशेष गरेर जिल्ला बाहिरबाट सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाका लागि आएका कर्मचारीले गृहजिल्ला फर्कंदा चिनारीस्वरूप लैजान्छन् । उच्च ओहदाका व्यक्तिलाई जिल्ला आउँदा या बिदाइ गर्दा पनि भोजपुरे चिनोका रूपमा यही चीज उपहार दिने चलन छ ।

खुकुरीको ब्यापार
खुकरीको माग र महत्त्व बढ्दो छ । उत्पादन भने घट्दो छ । नेपाल बाहेक भोजपुरे खुकुरीको व्यापार भारतका दार्जिलिङ, आसाम, सिक्किम, चीन, बंगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत तथा अन्य राष्ट्रमा पनि हुन्छ ।

खुकुरी कति प्रकारका हुन्छ ?
खुकुरी मुख्य ३ प्रकारका बुदुना, सिरुपाते र बासपाँते अत्यधिक किनबेच हुन्छ । बुदुना मोटो र फराकिलो हुन्छ । सिरुपाते सिरुको पात आकारको पातलो हुन्छ । बाँसपाते बाँसको पातजस्तै, सिरुपातेभन्दा केही मात्रामा बाक्लो हुन्छ । सिरुपाते र बाँसपाते सजाउन, उपहारका रूपमा आदानप्रदानका लागि प्रयोग हुन्छ । ४ इन्चदेखि दुई फिटसम्मका खुकुरी उत्पादन हुन्छ ।


सामान्य खुकुरीको ४ सय रुपैयाँ पर्छ । बुट्टादार, धातु प्रयोग गरिएका, डिजाइन मिलेका खुकुरी २५ हजारसम्म बिक्री हुने गरेको छ । खुकरीमा ग्राहकका इच्छा र मागअनुसार राष्ट्रिय तथा दुर्लभ पशुपक्षी, राष्ट्रिय झन्डा, ड्राइगन हानेर, सिक्का टाँसेर बुट्टा हानिन्छ । विशेषतः दाप ९खोल०मा पित्तल, चाँदी र सुनको लेपन लगाएर बुट्टा निकालिन्छ ।

कसरी बनाइन्छ कुखुरी ? 
काठका दापमा विभिन्न आकृति खोपेर सजावट भरिन्छ । खुकुरी बनाउन मुख्य त स्प्रिङ (गाडीको कवाडी पत्ती), पत्थरकोइला, कोइला, काठ, धातुजन्य पदार्थ, पाइन आवश्यक पर्छ। कतिपय देशमा औजार, हतियार लैजान रोक लगाइएको हुँदा भोजपुरे खुकुरीकै आकृति भएको काठको खुकुरीसमेत उत्पादन र बिक्री हुन्छ ।

कसरी बन्यो भोजपुर खुकुरीले प्रख्यात ?
२०२७ सालमा तत्कालीन राजा महेन्द्र भ्रमणका क्रममा भोजपुर पुगेका थिए । सदरमुकाम नजिकैको बोखिम गाउँमा हेलिकप्टरबाट अवतरण गरे, भ्रमण सकाएर फर्कने क्रममा स्थानीयवासीले राजालाई उपहारस्वरूप आफूले उत्पादन गरेको खुकुरी हातमा थमाए । महेन्द्रले जति पनि खुकुरी देखेका थिए । तिनको तुलनामा त्यो कलात्मक आकर्षक डिजाइनको र उत्कृष्ट पाएपछि ‘भोजपुरे खुकुरी’ नामकरण गरिदिएका थिए । यसरी मौलिक पहिचान बोकेको खुकुरी बिस्तारै पेसाका रूपमा आयआर्जनको मुख्य स्रोत बन्दै गयो र भोजपुर जिल्ला खुकुरीका लागि प्रख्यात बन्यो ।

५७ वर्षीय उद्यमी महेन्द्रकुमार विश्वकर्माका अनुसार १९६५ सालदेखि विभिन्न डिजाइनका खुकुरी बनाउने प्रचलन सुरु भएको पाइन्छ । यसले भोजपुरे खुकुरीका रूपमा प्रसिद्धि पाउन करिब ७ दशक कुर्नुपरेको थियो । दशक लामो माओवादी द्वन्द्व, कच्चापदार्थ, जनशक्ति अभाव, युवा पुस्ताको बेवास्ताले गर्दा यसको उत्पादन घट्न थालेको पाइन्छ । साल, सिसौ र ओखरका बोट काट्न नपाउने वन ऐन लाग्र भएपछि टिकाउ बिँडका लागि काठ र फलाम गाल्ने कोइलाको अभाव खड्केको हो ।

घरेलु तथा साना उद्योग विकास समितिले संरक्षण र प्रर्वद्धनका लागि बर्सेनि सहुलियत मेसिन र तालिम दिए पनि उद्यमीले चासो दिएका छैनन् । भोजपुर सदरमुकाम, टक्सार, रानीबास, खैराङ, कोट, गोगने, हेलौछा, जरायोटार, खावालगायत गाउँका ६ दर्जन बढी खुकुरी कारखाना यिनै कारणहरुले बन्द हुँदै गए ।


विश्वकर्मा समुदायले घरैपिच्छे आरन राख्थे । घरायसी प्रयोजनका फलामजन्य सामग्रीसँगै खुकुरी उत्पादन हुन्थ्यो । आजभोली ९९ प्रतिशतले उत्पादन गर्न छाडेका छन् । सदरमुकामको उत्पादित ५० प्रतिशत खुकुरी त जिल्लाभित्रकै गाउँबस्तीमा खपत हुन्छ ।

विदेशमासम्म पहिचान बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ । भोजपुर सदुमुकाममा खुकुरी उद्योग घट्दै गएका छन् । थोरै मात्रामा सञ्चालनमा आएका उद्योगलाई माग धान्न हम्मे पर्छ । एक महिनामा एउटा उद्योगमा ५ सयदेखि एक हजार थान खुकुरीको माग आउने गर्छ । मागअनुसार बनाउन सके मासिक ५ देखि ७ लाख रुपैयाँ आम्दानी लिन सकिने भए पनि दक्ष जनशक्तिको अभाव छ ।

विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको पान्छ । जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् हो । पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow